काठमाडौँ । विवेकशील साझा पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका रवीन्द्र मिश्र वर्तमान शासन प्रणाली नै उल्ट्याउने पक्षमा उभिएका छन् । उनी संवैधानिक राजतन्त्र र हिन्दु–बौद्ध राष्ट्रको पक्षमा उभिएका हुन् ।
संघीयता खारेज गर्नुपर्ने यसअघिदेखि नै बताउँदै आएका उनले विचारभन्दा माथि देशको अवधारणालाई पुस्तककै रूप दिएका हुन् । उनले लेखेको पुस्तक छिट्टै बजारमा उपलब्ध हुने बताइएको छ । पुस्तकमा मिश्रले गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षता जस्ता विषय सैद्धान्तिक रूपमा गलत नभए पनि दिनप्रतिदिन संवेदनशील हुँदै गएको, नेपालको भूराजनीति र आन्तरिक परिस्थितिका कारण ती विषय नेपालको दूरगामी हितका लागि घातक भएको निष्कर्ष निकालेका छन् ।
मिश्रले ढिलो नगरीकन नेपालमा संवैधानिक राजसंस्था पुनःस्थापना तथा सङ्घीयता खारेज गर्नुपर्ने जिकिर गरेका छन् । साथै, नेपाललाई ‘हिन्दु–बौद्ध राष्ट्र’मा रूपान्तरण गर्नुपर्ने उनको प्रस्ताव छ । उनले भनेका छन्, ‘कुनै विषय सैद्धान्तिक रूपमा राम्रो भएर मात्र हुँदैन, त्यसले धरातलीय यथार्थसँग तादात्म्य राख्नुपर्छ ।’
मिश्रले गत वर्ष विवेकशील साझा पार्टीको अध्यक्ष हुँदा सङ्घीयता खारेजी र धर्म निरपेक्षताबारे जनमतसङ्ग्रह नेपालका लागि अत्यावश्यक रहेको बताउँदै ‘बहस र छलफल’का लागि एउटा दस्ताबेज सार्वजनिक गरेका थिए ।
उक्त दस्तावेजमाथि देशभरबाट आम रूपमा प्राप्त प्रतिक्रिया, भएका छलफल र बहस तथा बढ्दै गएको देशको भूराजनीतिक र आन्तरिक संवेदनशीलता मनन गरेर त्यसलाई परिमार्जन र विस्तार गरी पुस्तकको रूप दिएको उनको भनाइ छ ।
मिश्रले ल्याएको दस्ताबेजमा पार्टीभित्र मिलन पाण्डे समूहले कडा विरोध गरेको थियो भने सोही विवादपछि पाण्डेलगायत कारबाहीमा परेका थिए । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग एकताको तयारीमा समेत जुटेका थिए मिश्र । त्यसका लागि विभिन्न चरणमा राप्रपासँग भेटवार्ता भए पनि भागबण्डामा कुरा नमिल्नुका साथै पार्टीभित्र पनि तीव्र अन्तर्विरोध भएपछि उनी रोकिएका थिए ।




















