काठमाडौँ । भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय जनता पार्टीको कार्यालयमा पुगेका छन् । उनले त्यहाँ भाजपा अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेको बताइएको छ ।
नयाँ दिल्लीस्थित भारतीय जनता पार्टीको केन्द्रीय कार्यालयमा भएको भेटमा दुई पार्टीको सम्बन्ध विस्तार र आपसीहितका बारेमा छलफल भएको दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।
सो अवसरमा भारतीय विदेशमन्त्री एस जय शङ्कर पनि उपस्थित थिए । अध्यक्ष दाहालले शनिबार मात्रै भारतीय विदेशी मन्त्री जय शङ्कर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटवार्ता गरेका थिए ।
यस्तै, भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख विजय चौथाइवाले अध्यक्ष रहेको ‘फाउण्डेन फर पब्लिक अवारनेस एण्ड पोलिसी’ ले आयोजना गरेको ‘भारत–नेपाल सम्बन्ध’ विषयक कार्यक्रमलाई अध्यक्ष दाहालले सम्बोधन गरेका थिए ।