काठमाण्डौं । सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल-भारतबीच भएको सन् १९५० को सन्धि पुनरावलोकन गर्नुपर्ने बताएका छन् ।
भारतको तीनदिने भ्रमणमा रहेका दाहालले फाउन्डेशन फर पब्लिक अवार्नेश एण्ड पोलिसीले शनिबार नयाँदिल्लीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै कूटनीतिक संवादमार्फत् दुई मुलुकबीचमा देखिएका समस्याहरु समाधान गरेर जान पनि सो सन्धिको पुनरावलोकन गर्न ढिलाई गर्न नहुने बताए ।
सो अवसरमा उनले नेपाल-भारत प्रवुद्ध समूहले तयार पारेको प्रतिवेदनलाई दुई मुलुकबीचको सम्बन्धमा अझ प्रगाढ बनाउने गरी ग्रहण गरेर अघि बढ्नुपर्ने बताए ।
अध्यक्ष दाहालले नेपाल-भारतबीचको सम्बन्ध परापूर्वकालदेखिनै प्रगाढ रहेको उल्लेख गर्दै त्यसमा कुनै समस्या आए कूटनीतिक सम्वादको माध्यमबाट समाधान गर्दै अघि बढ्न सकिने बताए ।
अध्यक्ष दाहालले नेपालको कृषि, पूर्वाधार, पर्यटनमा लगानी बढाउन पनि भारतसँग गरे । उनले नेपाल सरकारले निर्यातजन्य उद्योगलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै त्यसमा लगानी गरेर पनि उच्च प्रतिफल लिन सकिने अवसर रहेको बताए ।
सत्तारुढ भारतीय जनता पार्टीको निमन्त्रणामा भारत भ्रमणमा रहेका उनले आजै भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए ।

























