काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) रद्ध गरेकै कारण प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएको बताएका छन् ।
काठमाडौंमा पार्टीको बागमती प्रदेश कमिटीको तेस्रो बैठकलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष नेपालले एसपीपी रद्ध गरेकै कारण प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द भएको बताए ।
उनले व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्दासमेत अमेरिकीहरुको नेपाल भ्रमण बढेको र तिब्बती शरणार्थी शिविरमा पुगेर सरकारी गाडी अघिपछि लगाउने काम गरिरहेको बताए ।
उनले एमसीसी जस्ताको त्यस्तै पास गरेको खण्डमा देश तहसनहस हुने दाबी गरे । उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नै एसपीपी नेपालमा आएको दाबी गरे ।
अध्यक्ष नेपालले आगामी प्रदेश र संघको निर्वाचनको मिति कुनै पनि समयमा घोषणा हुन सक्ने बताए । उनले अब चाँडै चुनावको मिति घोषणा हुने भएकोले चुनावको तयारी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिए । अध्यक्ष नेपालले संसदको अधिवेशन सकिनेबित्तिकै निर्वाचनको मिति घोषणा गरिने भएकोले मंसिरभन्दा पछि जाने सम्भावना नरहेको उल्लेख गरे । उनले पार्टीका नेताहरुलाई जिल्लामा केन्द्रिकरण हुन आग्रह गरे ।




















