काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायत नौजना नेतालाई पार्टीबाट निष्काशन गरेका छन् । शुक्रबार वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै उनले बाबुरामलगायत नौजना नेताहरुले पार्टी फुटाउने प्रयास गरेकाले कारबाही गरिएको बताए ।
उनले बिहीबार सम्पन्न जसपाको केन्द्रीय समिति बैठकले डा. भट्टराईसहित गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, रमेश यादव, हिसिला यमी र भक्तबहादुर शाहलगायतका नेताहरुलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जानकारी दिए ।
कारबाहीमा पर्ने नेताहरुले पार्टीको हितविपरित काम गरेको, पार्टीको सिद्धान्त विपरीत अभिव्यक्तिहरु दिएको र छुट्टै पार्टी खोल्ने निर्णय गरेको उनले आरोप लगाए ।
अध्यक्ष यादवले सरकारले संसदमा पेश गरेको नागरिकता सम्बन्धी विधेयकलाई फाष्ट ट्रयाकमा पारित गर्नुपर्ने बताए । उनले फाष्ट ट्रयाकमा पारित गर्न गठबन्धनमा समझदारी पनि बनेको स्पष्ट पारे ।
जसपामा विवाद बढेपछि संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भने केन्द्रीय समितिको छुट्टै बैठक काठमाडौंमा गरेका थिए । यादव पक्षको यो निर्णयसँगै जसपा औपचारिक रुपमै विभाजन भएको छ ।
























