काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज तीनदिने भ्रमणका लागि भारततर्फ जाने भएका छन् ।
भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जे पी नड्डाको निमन्त्रणामा उनी भारत जान लागेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताएका छन् । भारतमा रहँदा प्रचण्डले भाजपा अध्यक्ष जेपी नड्डासँग भाजपा मुख्यालयमै भेटवार्ता गर्ने कार्यतालिका छ ।
तीनदिने भारत भ्रमणको क्रममा प्रचण्ड र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबीच पनि भेटवार्ता हुने कार्यतालिका रहेको जनाइएको छ ।
यस्तै, भारतका विदेश मन्त्री डा. एस जयशंकर र विदेश सचिव विनयमोहन क्वात्रासँग पनि प्रचण्डको भेट तय गरिएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि उनको भेट हुने कार्यक्रम रहेको छ ।
त्यस्तै, दिल्लीस्थित नेपाली राजदूतावासले प्रचण्डको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछ । प्रचण्ड दिउँसो १ बजे नयाँदिल्लीतर्फ प्रस्थान गर्दै छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओको नेपाल भ्रमणलगत्तै अध्यक्ष प्रचण्डको भारत भ्रमण हुन लागेको हो । वाम एकताका लागि जोड दिएको चिनियाँ टोलीको भ्रमण लगत्तै उनी भारत भ्रमणमा जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रचण्ड साउन १ गते स्वदेश फर्किने कार्यतालिका रहेको छ ।
























