काठमाडौं । नेकपा एमालेले सरकारलाई वैवाहिक अंगीकृत नागरिकताबारे छलफल गर्न पाइने कि नपाइने भनी प्रश्न गरेको छ ।
प्रतिनिधिसभामा प्रस्तुत भएको नागरिकता विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै एमालेका सांसद कृष्णभक्त पोखरेलले प्रस्तावित विधेयकमा वैवाहिक अंगीकृत नागरिकताबारे मौन रहनुको कारण दिन सरकारसँग माग गरेका छन् ।
सांसद पोखरेल भने- ‘वैवाहिक अंगीकृत नागरिकताबारे छलफल हुन नसक्ने हो ?’ उनले विवाह गरेर आउनेवित्तिकै नागरिकता दिने व्यवस्था कहाँ छ भनी प्रश्नसमेत गरेका छन् ।
सांसद पोखरेलले भने- ‘कहाँ छ आउनेवित्तिकै नागरिकता दिने ? भारतमा ७ वर्ष छ । जहाँ पनि कम्तीमा ४-५ बर्ष रहेको उनले बताए । सांसद पोखरेलको आग्रह छ, ‘कति पनि हुन्न विवाह गरेर आउनेवित्तिकै नागरिकता पाउनुपर्छ भन्ने हुनु हुँदैन । यसमाथि छलफल गरौं र एउटा निष्कर्षमा पुगौं ।’
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विवाह गरेर आएको ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता पाउने व्यवस्थासहित नागरिकता विधेयक पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो । तर, उक्त विधेयकलाई फिर्ता लिएर सरकारले नयाँ विधेयक ल्याएको छ ।
























