काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफुहरु जनताको हक अधिकारलाई थप बलियो गर्दै अघि बढ्नुपर्छ भन्ने पक्षमा रहेको बताएका छन् ।
विकल्प फाउण्डेशनले बिहीबार ललितपुरमा आयोजना गरेको विज्ञान तथा सूचना–प्रविधिसम्बन्धी नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले मुलुकलाई अघि बढाउन अझै पनि वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिष्टहरू एक हुनाको विकल्प नरहेको बताए । उनले वैज्ञानिक विचार राख्नेहरु एकताका साथ अघि बढेमात्रै विज्ञान र प्रविधिको क्षेत्रमा नीतिगत सुधार गरेर विकास र समृद्धिको यात्रामा अगाडि बढ्न सकिने धारणा राखेका छन् ।
वैज्ञानिक सोचसहितको नयाँ खालको बहस नेपाली समाजलाई आवश्यक परेको भन्दै अध्यक्ष प्रचण्डले त्यसको नेतृत्व र आन्दोलनका लागि पुनः एक ठाउँमा उभिनुपर्नेमा जोड दिए ।
त्यस्तै उनले संविधानले माग गरेअनुसारका नयाँ ऐन ल्याउन खोज्दा रोक्ने षडयन्त्र भएको आरोप लगाएका छन् । परितर्वन मन नपराउनेहरुले अहिले पनि संविधानमा उल्लेख अधिकार तल्लो तहमा लैजान कानून निर्माण गर्दा अवरोध सिर्जना गर्न खोजेको उनको आरोप छ ।
अहिले पनि केहि नेताहरु संघीयता नै खारेज गर्नुपर्छ भन्ने अभिव्यक्ति दिइरहेको र देशलाई अझै निरंकुश राजतन्त्रतर्फ लैजाने प्रबृति देखापरेको उनको टिप्पणी छ ।