काठमाडौं । आज बस्ने प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयक पेस गर्ने तयारी गरिएको छ ।
बिहान ११ बजे बस्ने आजको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक-२०७९ पेस गर्ने तयारी गरिएको हो । संसदको सम्भावित कार्यसूचीमा गृहमन्त्री बालकृष्ण खाँणले उक्त विधेयक पेस गर्ने भएका हुन् ।
आजकै बैठकमा उक्त विधेयक प्रस्तुत गर्ने प्रस्तावमाथि सांसद प्रेम सुवाल, शेरबहादुर तामाङ र भीमबहादुर रावलले प्रस्तुत गरेको विरोधको सूचना निर्णयार्थ प्रस्तुत हुने भएको छ ।
नेपाल रेल्वे विधेयक-२०७९ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने, पारित गर्न प्रस्ताव गर्ने, आयुर्वेद विश्वविद्यालय विधेयक २०७६ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्नेलगायतका कार्यसूची पनि राखिएको संसद सचिवालयले जनाएको छ ।




















