काठमाडौँ । राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले सरकारको गैरजिम्मेवारीका कारण संघीय संसदका उपसभामुख र उपाध्यक्षको रिक्त रहेको दाबी गरेका छन् ।
आज राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सदस्य गौतमले प्रतिनिधिसभाको उपसभामुख र राष्ट्रियसभाको रिक्त उपाध्यक्ष पदमा महिला चयन गर्न नसक्नु सरकारका लागि लाजमर्दो विषय भएको बताए । उनले पुरुष सदस्य पद रिक्त भएको खण्डमा कुर्नै नपर्ने अवस्था हुने दाबी गर्दै महिला रिक्त पदकै कारण प्रतिनिधिसभामा ४ वर्ष र राष्ट्रियसभामा ४ महिनायता पदपूर्ति हुन नसक्नु दुःखको विषय भएको बताए ।
सदस्य गौतमले संविधानको धारा ९२ मा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष भन्ने व्यवस्था गरेको भन्दै उपाध्यक्षबिनाको अध्यक्षको परिकल्पना गर्न नसकिने उल्लेख गरे । उनले दुईमध्ये कुनै एक पदमा महिला अनिवार्य हुने कुरा संविधानले नै उल्लेख गरेको भन्दै पुरुष नभए पनि हुने तर महिला अनिवार्य हुनुपर्ने बताए । सदस्य गौतमले आफू संविधानको निर्माता भएकाले संविधान विपरीत भइरहेका गतिविधि सहन नसक्ने चेतावनी दिए ।
उनले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा महिला हुँदा पनि संविधानको भावनालाई असर नगर्ने बताए। उनले पदमा पूर्ति गर्नको लागि सरकार, राजनीतिक दल र संसदले नै चासो नदेखाउने दुःखद् भएको बताए ।

























