काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले महान्यायाधिवक्ता खम्बबहादुर खातीको राजीनामा माग गरेको छ । स्थानीय तहको निर्वाचनमा अमर्यादित क्रियाकलाप गरेको भन्दै एमालेले महान्यायाधिवक्ता खम्बबहादुर खातीको राजीनामा मागेको हो ।
सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले गत ३० वैशाखको स्थानीय तहको निर्वाचन क्रममा दैलेख, बुढीगंगा पुगेका महान्यायाधिवक्ता खातीले अमर्यादित क्रियाकलाप गरेको भन्दै राजीनामा माग गरेका छन् ।
प्रमुख सचेतक भट्टराईले भने- ‘३० वैशाखको निर्वाचन अनुगमन गर्न गएको निर्वाचन आयोगको टोलीले नेपाल सरकारका महान्यायाधिवक्तालाई किटानी गरेरै सो नगरपालिकाको वडा नम्बर ४ को थुमा भन्ने गाउँमा निर्वाचनको बेला अमर्यादित गतिविधि गरेको भनेर किटानी नै गरेको छ तर अहिलेसम्म उहाँले राजीनामा दिनु भएको छैन ।’ दोषी किटान भइसक्दा पनि महान्यायाधिवक्ता खातीले नैतिकताको आधारमा राजीनामा नदिएकोमा उनले आश्चर्य प्रकट गरे ।
























