काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले ढिलोचाँडो नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्ने बताएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत आफ्ना धारणा राख्दै यस्तो बताएका हुन् ।
नेपाल अहिले श्रीलंकाको अवस्थामा पुगी नसकेको भए पनि निष्ठा, विचार र स्वार्थी राजनीतिको बाटोले ढिलोचाँडो श्रीलंकाको अवस्थामा पुर्याउने उनले जिकिर गरे ।
सचेत रहँदै समयमै यथास्थिति तोड्न हस्तक्षेप गर्न आग्रह गर्दै उनले सबैले सचेत हुनुपर्ने र समयमै सामूहिक एव संगठित पहल गर्नुपर्ने धारणा राखेका छन् ।
उनले भनेका छन्- ‘हामी अहिले नै श्रीलंकाको अवस्थामा पुगिसकेका छैनौं । यो सही नै हो । तर तितो र नाङ्गो सत्य यो पनि हो कि निष्ठा,बिचार -सिध्दान्त एवं मूल्यविहीन भ्रष्ट- स्वार्थी राजनीतिको बोलवाला, कुशासन, भ्रष्टाचार, अपारदर्शिता, आसेपासे एवं दलालिकृत सत्ता,समस्या समाधानप्रतिको गैर जिम्मेवार प्रवृत्ति र तदर्थवादले ढिलो वा चाँडो,एउटा वा अर्को रुपमा पुर्याउने त्यतै हो ।सचेत होऔं र समयमै यथास्थिति तोड्ने सकारात्मक धक्कायुक्त हस्तक्षेपको निम्ति सामुहिक एवं संगठित प्रयत्न गरौं ।’

























