काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) फुटको नजिक पुगेको छ । बिवाद बढ्दै जाँदा जसपा केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक बोलाएसँगै जसपा फुटको नजिक पुगेको हो ।
उपेन्द्र यादवले असार २९ र ३० गते वीरगन्जमा बैठक बोलाएका छन् भने बाबुराम भट्टराईले पनि असार २८ र २९ मा काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बैठक डाकेका छन् ।
भट्टराई पक्षका नेता विश्वदिप पाण्डेका अनुसार छलफल हुने विभिन्न एजेण्डाहरु तय गरी बैठकको सूचना सबै पदाधिकारी, केन्द्रीय सदस्य, तथा संघीय परिषद् सदस्यलाई पठाइएको छ ।
जसपाको केन्द्रीय समितिको विस्तारित बैठकको एजेण्डाहरुमा पार्टीको आन्तरिक अवस्था, स्थानीय निर्वाचनको समीक्षा, संगठनबारे छलफल र आगामी कार्ययोजनाबारे छलफल गरिने पाण्डेले जानकारी दिए ।
उता यादव पक्षले यसअघि काठमाडौंमा कुनै पनि बैठक नबोलाइएको भन्दै वक्तव्य निकालेको थियो ।
पार्टीको आन्तरिक कलहमा संघीय परिषद् अध्यक्ष भट्टराईलाई साथ दिँदै आएका दुई नेतालाई मन्त्रीमा सिफारिस गरेसँगै यादवको पकड जनता समाजवादी पार्टीमा पुनः बलियो हुन पुगेको छ ।
विगतमा भट्टराईलाई साथै दिँदै आएकामध्ये भौतिक पूर्वाधार मन्त्रीमा मोहम्मद इस्तियाक राई र वन मन्त्रीमा प्रदीप यादवलाई सिफारिस गरेसँगै यादव आन्तरिक राजनीतिमा बलियो हुन पुगेको चर्चा गरिएको छ ।
























