काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल भ्रमणमा आएका छन् । चार दिने भ्रमणका लागि आज बिहान काठमाडौं आइुपुगेका जियानचाओले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्ने बताइएको छ ।
द्वारिकाज होटलमा बसेका जियानचाओले मेरियट होटलमा परराष्ट्रमन्त्री खड्कालाई भेटेपछि बालुवाटारमा प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्ने बताइएको छ ।
विदेश विभाग प्रमुख जियानचाओको सम्मानमा परराष्ट्रमन्त्री खड्काले आज बेलुकी होटल मेरियटमा रात्रिभोजसमेत आयोजना गरेको बताइएको छ ।
जियानचाओले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
जुन पहिलो सातादेखि विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो विदेश भ्रमण भएको बताइएको छ ।
नेपालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)लाई अस्वीकार गर्ने निर्णय गरेको र निकट भविष्यमै प्रधानमन्त्री देउवाले अमेरिका भ्रमण गर्ने तयारी गरिरहेको बेला चीनबाट भएको उच्चस्तरीय भ्रमणलाई अर्थपूर्ण मानिएको कूटनीतिज्ञहरुले बताएका छन् ।
उनको भ्रमणका विभिन्न उद्देश्य मध्ये पश्चिमी मुलुकबाट नेपालमा बसेर गरिरहेको चीन विरोधी गतिविधि रोक्न पहल गर्ने र सकेसम्म कम्युनिष्टहरुलाई एक हुन सुझाव दिने रहेको स्रोतको दावी छ ।



















