काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा नेकपा एमालेले जितेको छ । मेयरमा रामबहादुर बानियाँ र उपमेयरमा मायाकुमारी खड्का (कुँवर) विजयी भएका हुन ।
एमालेका मेयर उम्मेदवार बानियाँले ४ हजार ७७७ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खातीले ३७७४ मत पाएका छन् ।
उपमेयरमा एमालेकी मायाकुमारीले ४७२७ मत पाउँदा कांग्रेसकी रिता शाहीले ३७५५ मत मात्र पाएकी छन् । नगरपालिकाको १० वटा वडामध्ये १, २, ३, ४, ५, ६, ९ र १० मा एमालेको प्यानल नै विजयी भएको छ भने वडा नम्बर ७ र ८ मा कांग्रेस उम्मेदवार विजयी भएका छन् ।
वैशाख ३० मा भएको मतदानमा धाँधली भएको भन्दै निर्वाचन आयोगले रद्द गरेर २३ असारमा पुनः मतदान गराएको थियो । १३ हजार ६५९ मतदाता रहेको बुढीगंगामा ९ हजार १२८ मत खसेको थियो ।
बाजुराका बडिमालिका नगरपालिका, बूढीनन्दा नगरपालिका, गौमुल गाउँपालिका, जगन्नाथ गाउँपालिका र खप्तड छेडेदह गाउँपालिका नेकपा एमालेले जितेको थियो भने त्रिवेणी नगरपालिका, हिमाली गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका नेपाली कांग्रेसले जितेको थियो ।