काठमाडौं । २०९ औँ भानु जयन्तीको अवसरमा एपेक्स लाइफ स्कुल र भानु प्रतिष्ठानले संयुक्त रुपमा अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता एवम् स्रष्टा सम्मान कार्यक्रम गरेका छन् ।
एपेक्स लाइफ स्कूलमा बुधबार आयोजित सो कार्यक्रममा प्रमुख अतिथिको रूपमा बलदेब शर्मा मज्गैँया थिए भने सहित्यकार, गीत, गजल तथा समालोचनको क्षेत्रमा निरन्तर सक्रिय भई नेपाल राष्ट्र तथा नेपाली भाषा सहित्यका अब्बल व्यक्ति प्रा.डा.कृष्णहरि बराललाई विशेष स्रष्टा सम्मान गरिएको छ ।
भानु प्रतिष्ठानका अध्यक्ष प्रा.डा. व्रतराज आचार्यको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा रामबहादुर पहाडी, मधुसुधन लामिछाने, देवी लुईटेल, ढुण्डीराज पोखरेल, महेश पौडेल, शिवराज खनाल, देवी वराल, प्रभा भट्टराई बलराम दाहाल, भैरवी भूगोल लगायतका सर्जकहरूको उपस्थिति रहेको थियो । उनीहरुले कविता तथा गजल सुनाएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि मजगैयाले भानुभक्त नेपाली भाषा र सहित्यको धरोहर रहेको बताउँदै उहाँको चर्चा देशमा मात्र नभएर विदेशमा पनि उक्तिकै हुने गरेको बताए । मजगैयाले सबै क्षेत्रमा धर्म र संस्कार हराइरहेको बेला देशको संस्कार जोगाउने जिम्मा विद्यार्थीको काधमा रहेको बताउँदै एपेक्स लाइफ स्कुलले विद्यार्थीलाई संस्कार सिकाइरहेकोमा खुशी व्याक्त गरे ।
कार्यक्रममा सम्मानित स्रष्टा प्रा.डा.कृष्णहरि बरालले एपेक्स लाइफ स्कुलले विशेष स्रष्टा सम्मान गरेकोमा धन्यवाद दिँदै आफुपनि नर्सरीदेखी पिएचडी कक्षासम्मकालाई पढाएको बताउँदै विद्यार्थी र विद्यालयसँग फरक साईनो रहेको बताए ।

एपेक्स लाइफ स्कुलका संस्थापक निर्देशक सुवास न्यौपानेले भानु जयन्तिको अवसरमा एपेक्स लाइफ स्कुल तथा भानु प्रतिष्ठानको संयुक्त आयोजनामा विभिन्न कार्यक्रम गरी सप्ताहव्यापी रुपमा मनाईरहेको जानकारी दिए । उनले भानुभक्त नेपाली साहित्यका धुब्रतारा रहेको बताउँदै उहाँका कृतिहरु अहिले पनि नेपाली जनजिब्रोमा उत्तिकै लोकप्रिय रहेको बताए । चुँदी र रम्घालाई साहित्यिक तिर्थस्थलका रुपमा विकास गरीनु पर्नेमा न्यौपानेले जोड दिए ।
त्यसैगरी सो अवसरमा विभिन्न स्कूलबीच आयोजना गरीएको वक्तृत्वकला प्रतियोगितामा पाठशाला स्कूलकी शिक्षा चापागाई प्रथम हुन सफल भईन भने द्वितीय भ्यली भ्यू स्कूलका परार्थ पराजुली, तृतीय पाणिनी स्कूलका सिम्रन प्रसाई र सान्त्वना पुरस्कार काठमाडौं प्रज्ञा कुञ्ज स्कूलका रियाना बोगटीले प्राप्त गरेकी छिन् ।




















