काठमाडौं । सत्ता गठवन्धनमा रहेको नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले अर्थमन्त्रीमाथि उठेका प्रश्नको जवाफ माओवादी केन्द्रले दिनुपर्ने बताएका छन् ।
बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै खनालले अर्थमन्त्रीका बिषयमा धेरै कुरा उठिसकेपछि सम्बन्धित पार्टी र स्वयं अर्थमन्त्रीले यस बिषयमा जवाफ दिनुपर्ने बताएका हुन । यस्ता सवालमा कसैले हेलचेक्राई गर्न नहुने भन्दै उनले गल्ती कमजोरी भए सम्बन्धित व्यक्तिले नै जिम्मेवारी लिनुपर्ने बताएका छन् । खनालले उक्त घटनाका बिषयमा निष्पक्ष रुपमा छानविन गरि सत्यतथ्य बाहिर ल्याउनुपर्ने र बाहिर आएको बिषय सत्य हो भने अर्थमन्त्रीले राजीनामा दिनुपर्ने जिकिर गरेका छन् । उनले अर्थमन्त्रालयमाथिको घटना निकै गम्भीर बिषय भएकाले यस्ता घटना घट्न थाले धेरै कुरामा गम्भीर प्रश्न उठ्ने तर्क गरेका छन् ।
खनालले सवै बिषयको उचित समाधान निकालि सदनलाई सहज रुपमा सञ्चालन गर्नदिने वातावरण बनाउनुपर्ने पनि बताएका छन् ।