काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज दिउँसो १ बजे प्रज्ञा प्रतिष्ठानमा बस्दै छ । आजको बैठकमा गत आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको प्रतिवेदनमाथि नेताहरूले राखेका प्रश्नहरुको पार्टी अध्यक्षले जवाफ दिने भएका छन् ।
१९ गते पहिलो दिनको बैठकमा प्रदेश इन्चार्ज र अध्यक्षहरूले र २० गतेको बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए । बैठकमा सहभागीहरूले आगामी चुनावमा गठबन्धन गर्नुभन्दा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने, स्थानीय तह चुनावमा भएको अन्तरघात छानविन गर्नुपर्ने र यही बैठकबाट पदाधिकारी टुंगो लगाउनुपर्ने धारणा राखेका थिए । तर अहिले स्थायी कमिटी र पोलिटव्युरो मात्र टुंगो लगाएर केन्द्रीय समिति बैठक सम्पन्न गर्ने तयारी रहेको बताइएको छ ।
गत २०७८ पुस १८ गते काठमाडौंमा सम्पन्न आठौं महाधिवेशन अध्यक्षमा प्रचण्डलाई नै निरन्तरता दिंदै सम्पन्न भएको थियो । तर अन्य पदाधिकारीहरू अहिलेसम्म पनि चयन गरिएको छैन ।




















