काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । मङ्गलबार दिउँसो पार्टी कार्यालय सानेपामा भ्रातृ र शुभेच्छुक संस्थाको विधानका सन्दर्भमा पदाधिकारी बैठक बस्न लागेको हो ।
महामन्त्री गगन थापाले पदाधिकारी बैठकमा मूलतः भ्रातृ संस्थाकै विषयमा छलफल हुने बताए । उनले भने, ‘स्थानीय निर्वाचनअघिदेखि भ्रातृ संस्थाको विधान परिमार्जनका विषयमा छलफल भइरहेको छ, बीचमा निर्वाचनका कारण राखिएको थियो । आज त्यसमा छलफल हुन लागेको हो।’
भ्रातृ संस्थाको विधानबाहेक समसामयिक राजनीतिबारे पनि छलफल हुने उनले बताए । बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा सहभागी नहुने बुझिएको छ । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा पदाधिकारी बैठक बस्ने छन् ।
उक्त बैठकमा विधान परिमार्जन र पारित गर्नका लागि पार्टीभित्र सहमति निर्माणका लागि छलफल हुने सहमहामन्त्री महालक्ष्मी उपाध्यक्ष ‘डिना’ले बताइन् । सहमहामन्त्री जीवन परियारले पार्टीभित्रका फरक मतलाई नेतृत्वले सम्बोधन गर्नुपर्ने बताए ।
























