धनगढी । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारले देशमा आर्थिक संकट पैदा गरेको बताएका छन् ।
मंगलबार प्रेस चौतारी कैलालीले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले एमाले नेतृत्वको सरकारलाई विस्थापित गरेपछि मुलुकले दुष्परिणाम भोग्नु परेको बताएका छन् । एमाले सरकारमा रहँदा बचतको अवस्थामा रहेको अर्थतन्त्र गठवन्धनको सरकार बनेको नौ महिनामा झण्डै दुई खर्बको घाटामा पुगेको आरोप लगाएका छन् ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले एमाले नेतृत्वको सरकारको पालामा भन्दा झण्डै दोब्बरले मूल्यवृद्धि गरेको पोखरेलले बताएका छन् ।
त्यस्तै करको दरमा हेरफेर गरेर सीसीटिभी फुटेज मेटाउनु अर्थमन्त्री जनार्दन शर्माको नीतिगत भ्रष्टाचार भएको उनले औंल्याएका छन् । अवाञ्छित व्यक्तिको प्रयोग गरेर करका दायरा हेरफेर गर्ने अर्थमन्त्री शर्मालाई कारवाही गर्ने सवालमा प्रधानमन्त्री अग्रसर नहुनुले उनीप्रति पनि आशंका उब्जाएको महासचिव पोखरेलले बताएका छन् । कांग्रेसकै सांसद पनि मुछिएका कारण प्रधानमन्त्री हच्किएका पोखरेलको आरोप छ ।
महासचिव पोखरेलले नेकपा एस र माओवादीलाई लक्षित गर्दै नेपाली कांग्रेसको साथ लागेकाहरू कम्युनिष्ट नभएको दावी पनि गरेका छन् ।
स्थानीय तहको निर्वाचनमा पूर्णरूपमा घेराबन्दी गरेर एमाले सक्ने रणनीति पाँच दलको भएपनि त्यो असफल भएको बताउँदै पोखरेलले आगामी निर्वाचनमा एमालेले अझ राम्रो नतिजा ल्याउने दावी गरेका छन् ।
‘

























