अछाम । विनायक नगरपालिका–४ का विनोद शाहीको मृत्युबारे छानबिन माग गर्दै भएको प्रदर्शनका कारण अछाम सदरमुकाम मंगसेन तनावग्रस्त भएको छ ।
शाहीको न्यायका लागि सदरमुकाम मंगलसेनमा सोमबार बिहानैदेखि प्रदर्शन भएको छ । प्रदर्शनकारीहरूले शाहीको हत्या भएको दाबी गर्दै हत्यारालाई बचाउन सरकारी वकिल कार्यालयले भूमिका खेलेको आरोप लगाएका छन् ।
प्रदर्शनकारीहरूले वकिलको कार्यालय र जिल्ला अदालतमा ढुंगामुढा समेत गरेका छन् । ढुंगा लागेर १२ जनाभन्दा बढी प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले १२ सेल अश्रुग्यास समेत प्रहार गरेको छ। जिल्लामा शान्तिसुरक्षा कायम गर्न अन्य जिल्लाबाट समेत सुरक्षाकर्मी बोलाइएको प्रहरी कार्यालय अछामले जनाएको छ ।
१७ वैशाखमा बेपत्ता भएका शाही २१ असार बिहान १० बजे गाउँ नजिकैको भिरमा मृत फेला परेका थिए । उनको हत्या भएको भन्दै परिवारले नगरपालिकाका मेयर, वडा नम्बर ४ का निवर्तमान वडाध्यक्ष, जिल्ला समन्वय समितिकी उपसंयोजक, सोही गाउँका शिक्षक तथा मेयरमा नजिक मानिएका एक व्यक्ति उनकी श्रीमती द्रोपती शाहीविरुद्ध किटानी जाहेरी दिएका थिए । यस्तै अन्य १३ जनाविरुद्ध पनि मृतकका दाजु डम्बर शाहीले किटानी जाहेरी दिएका थिए । तर, प्रहरीले किटानी दर्ता गर्न नमानेपछि उनीहरूले हुलाकबाट जाहेरी दिएका हुन्।
मेयरसहित सातजना घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् । किटानी जाहेरी दर्ता भएकामध्ये ६ जना अझै फरार छन् । उक्त मुद्दामा प्रहरीले मेयरसहित सातजनालाई अदालतबाट दुई दिनको म्याद थप गरी हिरासतमा राखेको छ । बाँकीको पनि खोजी कार्य जारी रहेको बताइएको छ।
अछामका पाँच राजनीतिक दलहरूले विज्ञप्ती निकाल्दै विनोदको हत्या घटनाको निष्पक्ष छानबिनको माग गर्दै बन्दको आयोजना गरेका छन् ।