काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन यो देशकै लागि अभिशाप भएको आरोप लगाएका छन् । आजको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले गठबन्धन टिकाउनबाहेक सरकारले अर्को कुनै काम गर्न नसकेको बताए ।
उनले भने- ‘आफ्ना स्वार्थको खेती गर्ने ठाउँ हो यो देश ? एउटा दल विशेषका स्वार्थ, गठबन्धन विशेषका स्वार्थको बाली काट्ने, फसल उठाउने ठाउँ हो यो देश ?’
उनले भने- ‘यता जुइनो खुस्किन्छ, त्यहाँ बाँध्यो, यता किला फुस्किन्छ, उता बाँध्यो,’ गठबन्धनप्रति व्यङ्ग्य गर्दै उनले अगाडि भने, ‘राजनीतिक हिसाबले, राष्ट्रियताको हिसाबले, अर्थतन्त्रका हिसाबले देशका लागि यो गठबन्धन अभिशाप हो ।’ देशका लागि गर्नुपर्ने अठोट, संकल्प सरकारसँग केही नभएको उनले बताए ।
किसानले मल पाउँदैनन्, महँगी बढेको छ तर पनि सरकार बेखबर बन्ने गरेको उनको आरोप छ । उनले भने, ‘सरकारको एउटै संकल्प गठबन्धन टिकाउनेमात्र छ ।’