काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनले स्थानीय तह निर्वाचनमा माओवादीमात्र गठबन्धनप्रति इमान्दार रहेको उल्लेख गरेको छ ।
आइतबार काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमा कांग्रेसको पुरै शक्ति गठबन्धनप्रति इमान्दार र गम्भीर नभएको, नेकपा एकीकृत समाजवादीले आफ्नो वास्तविक स्थितिभन्दा बढी सिट दावी गरेको र जनता समाजवादी पार्टीले तराई मधेसमा गठबन्धन गर्न अनिच्छुक देखिएको आरोप लगाइएको छ ।
बैठकमा अध्यक्ष प्रचण्डले प्रतिवेदन प्रस्तुत गर्दै भनेका छन्- ‘कांग्रेसको पुरै शक्ति गठबन्धनप्रति इमान्दार नहुँदा रोल्पा, रुकुम, सल्यान, कालिकोट, भोजपुर, गोरखा, सिन्धुपाल्चोकलगायतका जिल्लामा माओवादी बलियो भएका ठाउँमा अरु दलसँग मिलेर माओवादीलाई हराउन लागियो ।’
प्रचण्डले भनेका छन्- ‘नेपाली कांग्रेसले आफू बलियो भएको स्थनमा अन्य दलहरुको गठबन्धन बन्न नदिने, हामी र गठबन्धनका दलहरु बलियो भएको ठाउँमा एमाले वा अन्य दलसँग तालमेल गर्ने, आफू कमजोर भएको ठाउँमा पाँचदलीय गठबन्धन कायम गर्ने, कतिपय स्थानमा कांग्रेसका नेताहरुबाटै बागी उम्मेदवार खडा गर्ने जस्ता अघोषित नीति अपनाएको देखिन्छ।’
त्यसैगरी एकीकृत समाजगवादीले आफ्नो वास्तविक स्थितिभन्दा बढी दावी गर्दा सिट बाँडफाँटमा समस्या देखिएको र केही स्थानमा गठबन्धन पराजित भएको प्रचण्डले दाबी गरेका छन् ।
जसपा तराई मधेसमा गठबन्धन गर्न अनिच्छुक देखिएको उल्लेख गर्दै प्रचण्डले माओवादी मात्र गठबन्धनप्रति इमान्दार देखिएको बताए ।

























