काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी राष्ट्रिय एकता अभियान नामक पार्टी शिलान्यास भएको एक हप्ता नवित्दै सो पार्टीमा चरम विवाद देखिएको छ । पार्टीको संयोजकबाट निष्कासित बामदेव गौतमले आफूमाथि कारवाही गर्ने ५ जनालाई निस्कासन गरेका छन् ।
हिजो सो पार्टीका नेताहरुले गौतमलाई हटाएर युवराज सफललाई संयोजक तोकेका थिए । तर आज गौतमले आफूखुसी बैठक राखेर संयोजकलाई हटाउन हस्ताक्षर गरेको बताउने पाँचै जनालाई शनिबारै कारवाही गरिएको बताइएको छ । पार्टीमा विमतिहरु भए छलफल गर्न सकिने ठाउँ हुँदाहुँदै अराजक शैलीमा विज्ञप्तिबाजी गरेको भन्दै उनीहरुलाई हटाइएको सो पार्टीका एक नेताले बताएका छन् ।
गौतमले हस्ताक्षरकर्ता मध्ये युवराज सफललाई अत्यन्त घातक र जे पनि गर्न सक्ने व्यक्ति रहेको भन्दै उनीसहित अरु चार जनालाई कारवाही गरिएको बताएका छन् ।
अभियानमा आवद्ध चार दलले गौतमको कार्यशैली अराजक, निरङकुश, तानाशाही, अवसरवादी र अराजनीतिक भएको आरोप लगाउँदै उनलाई पार्टीबाट निष्कासन गरिएको विज्ञप्ति जारी गरेका थिए ।
केही वर्ष यता नेकपा एकता अभियान चलाइरहेका गौतमले गत असार ११ गते अभियानलाई दलमा रुपान्तरण गर्ने निर्णय गरेका थिए ।
गौतमले पार्टी घोषणसभामा बोल्दै आज पार्टीको शिलान्यस भएको र उद्घाटन गर्दा नेपालले नै चकित हुने दावी गरेका थिए । तर शिलान्यास भएको एक हप्ता नवित्दै पार्टी फुटको संघारमा पुगेपछि सो पार्टीका नेता, कार्यकर्ता निरास भएका छन् ।

























