काठमाडौँ । सत्ता साझेदार दलहरुका शीर्ष नेतासहित बाराको निजगढ पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई सरकारले प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन् । विमानस्थल निर्माणका लागि प्रस्तावित स्थलको निरीक्षण गर्न शनिवार बारा पुगेका प्रधानमन्त्री देउवाले निजगढ विमानस्थल बनाउने काम सरकारको प्राथमिकतामा रहने बताए ।
प्रधानमन्त्री देउवाले तराई मधेस द्रुतमार्ग र विमानस्थल एकअर्कासँग जोडिएको आयोजना भएको बताए । उनले गठबन्धन सरकारले द्रुतमार्ग र विमानस्थल निर्माणलाई प्राथमिकतामा राखेको जानकारी दिए ।
प्रधानमन्त्री देउवाले भने, ‘विमानस्थलकै कारण द्रुतमार्ग निर्माण भएको हो । त्यसैले गठबन्धन सरकारको प्राथमिकता भनेको द्रुतमार्ग बनाएर प्लेन ल्याण्ड गराउने हो ।’
प्रधानमन्त्री देउवासँगै बारा पुगेका पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि द्रुतमार्ग बनाउनुको औचित्य विमानस्थलसँग जोडिएको भन्दै विमानस्थल बनाउनुपर्नेमा जोड दिए । समयमै विमानस्थल नबने राज्यको अर्बौ लगानी खेर जाने उनको भनाइ छ । उनले देशको अर्थतन्त्रका लागि निजगढ विमानस्थल (गेम चेन्जर) प्रोजेक्ट रहेको र प्रधानमन्त्री पनि विमानस्थल निर्माणका लागि सकारात्मक देखिएको बताए ।
यसैगरी पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि विमानस्थल निर्माण रोकिन नहुने बताए । उनले विमानस्थल द्रुतमार्गसँग जोडिएको बताए ।
प्रधानमन्त्री देउवाको नेतृत्वमा आएको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, वन तथा वातावरण मन्त्री रामसहाय यादव, संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री जीवनराम श्रेष्ठ, खानेपानी मन्त्री उमाकान्त चौधरी, नागरिक उड्यान प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलगायत सहभागी छन् ।

























