काठमाडौँ । भौतिक शास्त्रको दृष्टिले आकाशको परिभाषा दिँदा वायुमण्डलको क्षेत्र वा पृथ्वीको बाहिरी भाग भनिन्छ भने आध्यात्मिक परिभाषा दिँदा सूर्य, चन्द्र, ग्रह, तारा, नक्षत्र आदि रहने खगोलीय क्षेत्र भने हुन्छ । भौतिकवादी र आध्यत्मवादीले आकाशलाई हेर्ने दृष्टिकोण नै फरक छ । कोही बादलको घर मान्छन् भने कोही देवताको बासस्थल । मानिसको शरीरमा रहेका पञ्चतत्त्वमध्ये आकाश पनि एक पर्छ र अन्यमा पृथ्वी (माटो), जल (पानी), तेज (ज्योति) र वायु (हावा) । अन्य तत्व पनि आकाशमै निर्भर हुन्छन् । आकाश तत्त्वको सूक्ष्म विषय नै शब्द हो र शब्दले नै आकाश तत्त्वबारे जानकारी दिन्छ ।
सूर्यको प्रकाशमा धुलाका कणहरूले भरिएको आकाश नीलो र रात ताराहरूले भरिएको आकाश कालो रङमा देखिन्छ । साहित्यकारहरूले पनि आकाशको विशालतालाई आ–आफ्ना साहित्यमा ल्याएका छन्— गीत, गजल, कविता, निबन्ध आदि विधामा । कवि आर. मानन्धरको गत वर्ष फागुनमा प्रकाशित ‘कवितामा आकाश’ (मञ्जरी प्रकाशन, २०७८) काव्यकृतिले आकाशलाई विविध रूपबाट हेरेको छ र पाठकलाई बेग्लै खालको स्वाद दिन्छ । छोटोछोटा, हाइकुजस्ता कवितामा रचनाकारले आफ्नो विचारको संसार नै अटाउन खोजेका छन् । कवितालाई आकाश, चिन्तन र दर्शन गरी तीन भागमा विभाजन गरी कवि–साहित्यकार मानन्धरले काव्यप्रेमी पाठकलाई सजिलोसँग रसास्वादन गर्न सकिने व्यञ्जन दिएका छन् ।
‘कवितामा आकाश’को पहिला खण्डमा आकाशलाई कविले विभिन्न विम्ब र उपमा दिएका छन् । कविले आकाशलाई कतै आँखा, कतै सिरानी, कतै व्याप्ति त कतै मुक्ति, कतै निर्मलता, शून्यता, स्वच्छता आदि अनेकौँ विम्ब वा प्रतीक दिएका छन् । (रासस)