काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि दबाब बढाउन नेता शेखर कोइराला पक्षको बैठक आज पनि बस्ने भएको छ ।
बिहीबार राजधानीको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको कोइराला समूहको बैठक आज दिउँसो बस्ने गरी लागि स्थगित गरिएको थियो । बिहीबारको बैठकमा सभापति शेरबहादुर देउवाले पार्टीलाई विधानसम्मत चलाउन नसकेको निष्कर्ष निकालिएको थियो । नेता शेखर कोइरालाले छलफलका विषयहरू प्रस्तुत गरेपछि नेताहरूले धारणा राख्नेक्रम सुरू भएको छ ।
१४ औँ महाधिवेशनपछि पनि पार्टी विधान र विधिसम्मत ढंगले सञ्चालन हुन नसकेको भन्दै बैठकमा नेताहरुले असन्तुष्टि व्यक्त गरेका थिए । नेताहरूले सभापति देउवाले पार्टीभन्दा सत्तालाई मात्रै केन्द्रमा राखेर काम गरेको आरोप लगाए ।
देउवाले स्थानीय चुनाव सकिएको लामो समय भइसक्दा पनि केन्द्रीय समिति बैठक नराखेको, भ्रातृ संस्थामा आफूखुसी नियुक्ति गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
आज थप केन्द्रीय सदस्यहरू र पदाधिकारीहरूले बोल्ने पालो छ ।