काठमाडौं । नेकपा एकीकृत समाजवादीमा चारजना मन्त्रीसहितका १० जना सांसदहरूले पार्टीको मन्त्री फेर्ने निर्णयप्रति चरम असन्तुष्टि जनाएका छन् । अध्यक्ष माधवकुमार नेपाललाई संयुक्त हस्ताक्षर गर्दै ८ बुँदे ध्यानाकर्षणपत्र बुझाएका उनीहरुले मन्त्री परिवर्तन गरिए विद्रोह गर्ने संकेत समेत गरेका छन् ।
अपराधीलाई जस्तो गरी मन्त्री हटाउन खोजिएको र वजेट पास भएपछि आफूहरुले छोड्छौं भन्दाभन्दै प्रधानमन्त्रीलाई आजै, अहिले नै मन्त्री हटाउन दिएको दवाव ठिक नभएको भन्दै उनीहरुले संसदीय दलको बैठक बोलाउन माग गरेका छन् ।
बिहीबार बुझाइएको ध्यानाकर्षण पत्रमा हस्ताक्षर गर्नेहरुमा मन्त्रीबाट फिर्ता बोलाउने निर्णय भएका सांसदहरु रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले र कृष्णकुमार श्रेष्ठ छन् । यस्तै अन्य सांसदहरु कृष्णलाल महर्जन, गोपालबहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण, धनबहादुर बुढा र निरा जैरु छन् ।
अध्यक्ष नेपाललाई ध्यानाकर्षण गराइएका आठ वुँदा यस्ता छन्
१) आगामी आर्थिक वर्ष २०७९/८० को बजेट अधिवेशन चलिरहेको समयमा एक्कासि मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वाभाविक मान्न सकिन्न ।
२) पूर्वजानकारी पाउँदा स्वाभाविक प्रक्रियाबाट मन्त्री पदबाट राजीनामा गरेर आउँछौं भनेर नेतृत्वलाई मन्त्रीहरूले दिएको विश्वासमा ठेस पु¥याउने र पटक पटक अपराधीलाई जस्तो व्यवहार गरियो, यस्तो व्यवहार कदापि ठीक मान्न सकिँदैन ।
३) स्थायी कमिटीको बैठकमा समेत अध्यक्ष कमरेडले गठबन्धनमा समस्या भएकोले बजेट पास भएपछि गठबन्धनमा रहेका दलहरुसँग सल्लाह गरेर पार्टीको निर्णय कार्यान्वयन गर्ने भनेर दिएको निष्कर्ष विपरीत पटक–पटक आजै÷भोलि नयाँ मन्त्रीहरूलाई सपथ गराउन प्रधानमन्त्रीलाई दिएको दबाब किमार्थ राम्रो मान्न सकिन्न ।
४) मन्त्रीहरूले संसदमा बजेटसम्बन्धी आफ्ना धारणा राख्ने र माननीय सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिएर बजेट पास भएपछि छोड्ने छौं भन्ने प्रतिबद्धतालाई कमजोरी ठानियो, यो व्यवहारप्रति हामी गम्भीर छौं ।
५) प्रस्ताव गरिएका नयाँ मन्त्रीहरुको नामावली असमावेशी र असन्तुलित छ । यसप्रति हामी गम्भीर असहमत छौं ।
६) पालैपालो मन्त्री बनाउँछु भन्ने नेतृत्वको भनाइलाई सही मान्ने हो भने पनि सबैलाई एउटै व्यवहार र मापदण्ड लागू नभएको, महिलाको सहभागिता नभएको, गैरसांसद र एकै जिल्लाबाट दुईजना एकैपटक मन्त्रीमा सिफारिस गरेको, पुराना र नयाँको सन्तुलन नमिलाएको कुराप्रति हामी गम्भीर असहमत छौं ।
७) मन्त्रिमण्डल पुनर्गठन गर्दा पुरानो टीम पूरै फिर्ता र नयाँ टीम सन्तुलित र समावेशी सिद्धान्तको आधारमा सिफारिस गर्न जोडदार माग गर्दछौं। यी तमाम विषयमा छलफल गर्न तत्काल संसदीय दलको बैठक बोलाउनसमेत माग गर्दछौं ।
८) यी तमाम विषयमा छलफल गर्न तत्काल संसदीय दलको बैठक बोलाउनसमेत माग गर्दछौं ।
यसअघि बुधबार चार जना मन्त्रीले अध्यक्ष नेपाललाई भेटेर मन्त्री फेर्ने कुराप्रति असन्तुष्टि जनाएका थिए । पार्टीको मन्त्री फेर्ने निर्णयले नेकपा समाजवादीमा तनाव हुँदा त्यसले पार्टी अध्यक्ष माधव कुमार नेपाल मात्र होइन, सो पार्टीका अहिलेका मन्त्री, मन्त्रीमा सिफारिस भएका र सरकारलाई समेत तनाव थपिएको छ ।
नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहालले षडयन्त्र तथा आलटाल गरेर मन्त्री परिषद हेरफेर गर्न विलम्व गरेको आरोप लगाउँदै आएका छन् । उनले यसो भने पनि पार्टीभित्रको व्यवस्थापन गर्न उनलाई नै हम्मेहम्मे परेको देखिन्छ ।
पुराना मन्त्रीहरुलाई फिर्ता बोलाउँदा उनीहरुले पार्टी परित्याग गर्ने चेतावनी दिइसकेका छन् । प्रधानमन्त्रीले कुनै निर्णय गर्नुअघि पार्टीले सिफारिस गरेर पठाउनु पर्ने भएकाले पुरानालाई कसरी फिर्ता गर्ने र नयाँ नाम कसरी सिफारिस गर्ने भन्ने विषय पार्टीभित्र चर्को वहसको घेरामा छ ।
प्रधानमन्त्री देउवालाई मन्त्रीमण्डल हेरफेर गर्न दबाब दिएर निवास फर्किए लगत्तै अध्यक्ष नेपालले पार्टीका मन्त्रीहरुलाई सहज तरिकाले फिर्ता हुन निर्देशन दिएका थिए । तर पर्यटनमन्त्री प्रेम आले र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले असहमति मात्र जनाएनन्, जवरजस्ती मन्त्रीबाट फिर्ता गरे पार्टी र सरकारलाई समेत राम्रो नहुने चेतावनी दिएको स्रोतको दावी छ ।
आफूहरुले राम्रो काम गर्दागर्दै किन हटाउनुप¥यो भन्ने प्रश्न गर्दैै मन्त्रीहरुले आफूहरुले थालेका राम्रा कामलाई निष्कर्षमा पुर्याउन पाउनु पर्ने उनीहरुले बताएका छन् । निर्वाचनको मुखमा आफूहरुलाई हटाउँदा त्यसले आफ्नो क्षमतामा प्रश्न उठ्ने भन्दै आफूहरुको भावी राजनीतिमा असर पुग्ने उनीहरुको दावी छ ।
राम्रो काम गरिरहेको अवस्थामा आफूहरुलाई हटाउनु भनेको आफ्ना लागि अध्यक्ष मरेतुल्य बराबर भएको भन्दै झाक्रीले कोटेश्वरस्थित निवासमा बाहिर नै सुनिने गरी अध्यक्ष नेपालप्रति आक्रोश पोखेपछि त्यहाँको स्थिति असामान्य बनेको बताइएको छ । झाक्रीको चर्को स्वरलाई कन्ट्रोल गर्न स्वास्थ्य मन्त्री बिरोध खतिवडाले झ्याल ढोका नै बन्द गर्नु परेको बताइएको छ ।
नेकपा भित्रको यो अवस्थाले गर्दा अध्यक्ष नेपालको नेतृत्वमा नै चुनौती थपिएको छ । प्रधानमन्त्रीलाई आक्षेप लगाउनु भन्दा पार्टी अध्यक्ष नेपालले आफ्ना पार्टीका तर्फबाट मन्त्री भइरहेका र हुन चाहनेलाई व्यवस्थापन गरे मात्रै वर्तमान सरकारमा हेरफेर गर्ने सम्भावना देखिन्छ । माधव नेपालले पार्टीभित्रको व्यवस्थापन गर्न नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवाले समेत तनाव व्यहोर्नु पर्ने अवस्था आएको छ । मन्त्री हटाउन दिएको दवाव र मन्त्री हटाए त्यसबाट उत्पन्न हुने परिस्थितिले सरकार नै अल्पमतमा पर्ने डरले प्रमलाई समेत पिरोलेको देखिन्छ ।
पार्टीले पुरानालाई फिर्ता बोलाएर मेटमणि चौधरी, जीवनराम श्रेष्ठ। शेरबहादुर कुँवर,भवानी खापुङलाई मन्त्री र हिरा केसीलाई राज्यमन्त्री बनाउने निर्णय गरेको थियो । कुँवर गैरसांसद हुन् । जसले गर्दा नेकपा एसले मन्त्री परिवर्तन गर्ने निर्णय गरेको २१ दिन हुँदा पनि मन्त्रिपरिषद्मा हेरफेर हुन सकेको छैन । हालका मन्त्रीहरुले पार्टी अध्यक्षलाई भन्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह, अनुरोध र चेतावनी समेत दिएर पद जोगाउन खोजेका छन् । जसले गर्दा माधव नेपाल निरीह जस्ता देखिएका छन् ।

























