काठमाडौं । पत्रकारिता छाडेर राजनीतिमा लागेका रवी लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामक दल घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै लामिछानेले आफु अन्य कुनै पार्टीमा प्रवेश नगर्ने भन्दै ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामक दल घोषणा गरेका हुन् ।
उनले पार्टीको प्रस्तावित चुनाव चिन्ह घण्टी समेत सार्वजनिक गरेका छन् । कार्यक्रममा लामिछानेले क्षमता भएका युवाहरूलाई पार्टीमा आवद्ध हुन आह्वान गर्दै पार्टीको माथिल्लो तहसम्म पुग्ने अवसर सिर्जना गर्ने प्रतिवद्धता जनाएका छन् । लामिछानेले व्यवस्था नभई अवस्था बदल्नका लागि राजनीतिमा लागेको दावी गरेका छन् ।
उनले राजनीतिलाई सफा गर्न राजनीतिमा आएकाले आफू र आफ्नो पार्टीलाई आउँदो प्रदेश र संघीय चुनावमा हार्ने छुट नभएको बताएका छन् । लामिछानेले आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अबलम्वन गर्ने बताएका छन् भने निर्वाचनमा राइट टु रिकल एन्ड राइट टु रिजेक्टको व्यवस्था पनि आफ्नो पार्टीको अवधारणा रहेको बताएका छन् ।
आफ्नो पार्टीमा परिवारवाद निषेध रहेको बताउँदै उनले भ्रातृ संगठन र कार्यकर्तारहित पार्टी बनाउने घोषणा गरेका छन् ।
रविले घोषणा गरेको पार्टीलाई परिवारवाद निषेधप्रति उनकै दाइ हरिशरण लामिछानेले व्यांग्यात्मक शैलीमा कटु आलोचना गरेका छन् । नयाँ पार्टी घोषणा गरेकोमा रबि लामिछानेलाई बधाई दिँदै हरिशरणले पार्टीको नीति अनुसार, परिवारबाद निषेध गरिनु राम्रो प्रयास भएको व्यंग्य गरेका छन् । उनले सामाजिक सञ्जालमा मनमा लागेको एउटा रोचक कुरा भन्दै लेखेका छन् –“कुनै पनि नयाँ सदस्यले अब देशभर आफ्नो जन्मकुन्डलीलाई अर्को सदस्यसङ्ग भिडाइ नाता ‘अप्रमाणित’ भएको प्रमाणपत्र लिएर मात्र पार्टी प्रबेश गर्नु होला । पछि आपसी मायाप्रेममा परि बिहेबारी भै कुनै अवस्थामा नाता प्रमाणित भएमा सदस्यता खारेज हुन सक्छ है। ‘लामिछाने बन्धु’हरु सरसल्लाह गर्नुहोला ।
दर्ता हुन बाँकी सो पार्टीका कुनै पनि गतिबिधीमा म परिवारको नातेदारको नाताले नैतिक रुपले सम्लग्न हुने त कुरै भएन । राजनैतिक रुपले त्यो पार्टिमा म आजीवन रहने छैन भन्ने जानकारी पनि गराउदँछु । स्वतन्त्र र दलगत राजनीतिका लागि म सङ्ग अपार अवसर र सम्भाबना छन् । बाँकी कुरामा प्रतिक्रिया जनाउने मेरो हैसियत छैन । नेपाल आमाको एक स्वतन्त्र नागरिकको नाताले मेरो जीवन देशको सेवामा हमेसा समर्पित रहने छ। ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ ।”

























