काठमाडौं । काठमाडौं महानगरपालिका, धरान, धनगढीलगायतका स्थानीय तहमा स्वतन्त्र उम्मेदवारले जितेपछि संघीय र प्रदेश निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारहरु दिने घोषणा धमाधम भइरहेको छ ।
सञ्चारकर्मी रवि लामिछाने, अर्का सञ्चारकर्मी हरिशरण लामिछाने, काठमाडौंको मेयरमा पराजित भएका सुमन सायमी, पुकार बम, विश्व साइकल यात्री पुष्कर शाहलगायतले स्वतन्त्र रुपमा संघीय निर्वाचन लड्ने तयारी गरेका छन् ।
देशका विभिन्न क्षेत्रमा युवा पुस्ताहरूले स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने क्रममा इन्जिनियर आकर्षण पोखरेलले पनि उम्मेदवारी घोषणा गरेका छन् । उनले नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाको क्षेत्र काठमाडौं – ४ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।
आज कपनमा आयोजित एक कार्यक्रमकाबीच पोखरेलले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।
आफूसँग विकासको एजेण्डा रहेको दावी गर्दै पोखरेलले कसैलाई पनि गाली नगर्ने बताएका छन् । उनले नेता बन्न भिजन चाहिने बताउँदै अरुलाई गाली गरेर नेता बन्न नसकिने बताएका छन् ।























