काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराजले खेल र खेलाडीको क्षेत्रको बिकासका लागि सरकार सदैव अग्रसर गरेको बताएका छन् ।
सोमबार काठमाडौंमा अखिल नेपाल फुटबल संघ (एन्फा) को २१ औं साधारणसभा उद्घाटन गर्दै मन्त्री गहतराजले खेलकुदलाई सिंहदरबारले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनका लागि आफू लागेको र खेल र खेलाडीको क्षेत्रको बिकासका लागि सरकार सदैव अग्रसर गरेको बताएका हुन् ।
मुलुकको खेलकुद क्षेत्रलाई व्यवसायीक रुपमा अघि बढाउनका लागि सवैको ध्यान केन्द्रीत हुनुपर्ने बताउँदै मन्त्री गहतराजले खेलकुदमा फुटबलतर्फका पूर्वाधारहरु निर्माणमा सरकारले विशेष महत्व दिएको बताए । खेलकुदमा लगानी गर्नका लागि सरकार सधैं प्रयत्नशील रहने वताउँदै मन्त्री गहतराजले नेपाली फुटबललाई बलियो बनाउनका लागि साहस प्रदान गर्नुपर्ने धारणा राखेका छन् ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले दक्षिण एसियामा फुटबलको स्थितिलाई बलियो बनाउन एन्फाले ध्यान केन्द्रीत गर्नुपर्ने बताएका छन् । एन्फाको संगठन मात्र भएर नपुग्ने र यसको कार्यदिशा पनि राम्रो हुनुपर्ने उनको भनाई छ ।
त्यस्तै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपालको फुटबल क्षेत्रलाई बलियो बनाउनका लागि एन्फाले धेरै नयाँ कार्यक्रमहरु ल्याएको बताएका छन् । उनले खेलाडीको अभिबृद्धि गर्नका लागि पनि धेरै काम गरिएको दावी गरेका छन् ।
कार्यक्रममा राखेपका उपाध्यक्ष शिब कोइरालाले खेलकुदको शिर उच्च बनाउनका लागि राखेपले सधै प्रयास गर्ने बताएका छन् ।