काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनप्रभावका हिसाबले एमाले देशको पहिलो पार्टी रहेको बताएका छन् । एमाले असफल नभएपनि धेरै सफल नभएको उनले स्वीकारेका छन् ।
शुक्रबार काठमाडौंमा जनप्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रम समापन गर्दै अध्यक्ष ओलीले एमाले अहिले पनि पहिलो शक्ति भएको भन्दै स्थानीय तहमा १२० सिट जितेको माओवादी केन्द्रले २०५ सिट जितेको एमालेलाई हरायौँ भन्नु हाँस्यास्पद रहेको तर्क गरेका छन् । उनले देश र जनताको हितको काम एमालेले कहिल्यै नछाड्ने स्पष्ट पारेका छन् । ओलीले कुनै पनि प्रतिक्रियावादी शक्तिले एमालेलाई ध्वस्त गर्न नसक्ने जिकिर पनि गरेका छन् ।
प्रशिक्षणका क्रममा ओलीले पार्टीभित्र बसेर पार्टीलाई नै गिराउन खोज्ने व्यक्ति एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन् । समृद्ध नेपाल सुखी नेपालीको गन्तव्य प्राप्तिका लागि एमाले सशक्त भएर अघि बढ्नुपर्ने बताएका छन् ।
त्यस्तै एसपीपीका बिषयमा २०७२ सालमा नै रक्षामन्त्रीको हैसियतले तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले पत्र लेखेको ओलीले बताए ।
२०७२ साल असोज ६ गते संविधान जारी भएको ३ दिनपछि, आफू सरकारबाट हट्ने तय भइसकेपछि तत्कालिन प्रधानमन्त्री कोईरालाले एसपीपीमा पक्ष हुन पाओस् भनेर अमेरिकालाई आग्रह गर्ने निर्णय गरेको बताए । ओलीले आफू प्रधानमन्त्री भएको १५ दिनपछि तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी राजदूतावासलाई पत्र लेखेको र आफूलाई जानकारी नदिइएको उल्लेख गरेका छन् । सामान्यतयाः दुतावासलाई प्रधानसेनापतिले त्यसरी पत्र लेख्ने प्रचलन नरहेको र यो रक्षा वा परराष्ट्रमन्त्रालयको काम भएको ओलीले स्पष्ट पारेका छन् ।
त्यसपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला फेरि पत्र लेखिएको ओलीको दावी छ । ओलीले आफ्नो सरकारका बेला सैन्य गठबन्धनमा सामेल नहुने भन्दै च्याप्टर क्लोज भएको स्पष्ट गरेका छन् । तर अहिले प्रधानमन्त्री शेरबहादुर देउवाले सेनाको क्याम्प बनाउने गरी बनाएको ड्राफ्टका बारेमा छलफल हुनुपर्ने ओलीले बताए ।























