काठमाडौं । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधबीच राष्ट्रियसभाको शुक्रबारको तेस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका हुन ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विनियोजन विधेयक, २०७९ का विनियोजन शीर्षकमाथि यही असार ६, ७ र ८ गते छलफल हुने तथा असार ९ र १० गते सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यतालिका रहेको बताए । त्यसअघि बसेको दोश्रो बैठकमा एमाले राष्ट्रियसभाका मुख्य सचेतक खिमलाल भट्टराईले आगामी आवको बजेट निर्माणका क्रममा भएका गतिविधिले आशंका पैदा भएको बताएका थिए । उनले बजेट निर्माणको संवेदनशीलता देखाउँदै सांसदलाई अर्थ मन्त्रालय प्रवेशमा रोक लगाएको र विज्ञका नाममा अनाधिकृत व्यक्तिलाई प्रवेश दिइएको विषयमा संसदीय छानविन समिति बनाउन माग गर्दै बैठक बहिष्कार गर्ने बताए ।
त्यस्तै शुक्रबार नै बसेको राष्ट्रियसभाको पहिलो बैठकमा सांसदहरुले ‘स्टेट पार्टनरशिप प्रोगाम’ (एसपिपी) का विषयबारेमा अहिलेसम्मका सरकारले कुनै जानकारी नगरेको भन्दै आपत्ती जनाएका थिए । सांसद बामदेव गौतमले अमेरिकाले प्रस्ताव गरेको एसपिपी सम्झौताका बारेमा सरकारले प्रस्ट पार्नुपर्ने बताए ।
राष्ट्रियसभाको अर्को बैठक यही असार ५ गते अपराह्न १ बजे बोलाइएको छ ।























