काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) नेपालको हितमा नभएको स्पष्ट पार्दै त्यसमा नेपाल सहभागी नहुने स्पष्ट पारेका छन् ।
एसपीपीबारे प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बिहान बसेको बैठकमा जवाफ दिनुहुँदै प्रधानसेनापति शर्माले सञ्चारमाध्यममा आएका कुरामा सत्यता नभएको बताएका छन् ।
नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने अमेरिकी अधिकारीहरुलाई जानकारी दिइसकेको शर्माले बताएका छन् ।
अमेरिकालाई नेपाल सरकार र रक्षा मन्त्रालयको स्वीकृतिमा एसपीपी सम्बन्धी पत्र पठाइएकोबारे प्रधानसेनापति शर्माले स्वीकार गरेका छन् ।
उनले भनेका छन्, ‘अहिले नेपाली सेनाले लेखेको जुन पत्र आएको छ, यो सत्य हो । चिठी लेखिएको साँचो हो । तर चिठी लेख्दैमा सैन्य अलाएन्स लेखिएको छैन ।’
पत्रमा सैन्य गठबन्धनका लागि नलेखिएको स्पष्ट पार्दै उनले भूकम्पको बेला मानवीय सहायताका लागि भनेर पत्र लेखिएको बताएका छन् ।























