काठमाडौं । सरकारले अमेरिकाको स्टेट पार्टनसिप प्रोग्राम (एसपीपी) सम्झौता गर्न लागेको बिषयमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ ।
मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले अरु देशको सेना नेपाल भित्राउने किसिमको सम्झौताका बिषयमा कुनै सत्यता नभएको बताएका छन् । उनले मुलुक सार्वभौम स्वतन्त्र राष्ट्र भएकाले यस बिपरितको कुनै काम नगर्ने बताएका छन् । प्रवक्ता कार्कीले एमसीसी सदनबाट पारित भइसकेको अवस्थामा कार्यान्यनको प्रक्रियामा रहेको बताएका छन् ।
मन्त्रीपरिषद् बैठकले जापान सरकारबाट नेपालको मानव संसाधन विकासका लागि प्राप्त हुने करिब ३६ करोड ६२ लाख रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको प्रवक्ता कार्कीेले जानकारी दिएका छन् ।
निजी आवास पुनर्निर्माण तथा प्रबलीकरणको कामलाई असार मसान्तसम्म निरन्तरता दिने निर्णय सरकारले गरेको छ । त्यस्तै त्यस्तै, सरकारले राष्ट्रिय बीमा कम्पनी लिमिटेडको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव राजेश्वर ज्ञवालीलाई र तारागाँउ विकास समितिको अध्यक्षमा सुरेशराज जोशीलाई नियुक्त गरिएको प्रवक्ता कार्कीले जानकारी दिएका छन् ।
बैठकले सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति २०७८ र सरकारी सम्पत्ति तथा जिन्सी मालसामान लिलाम बिक्री तथा मिनाहा सम्बन्धी कार्यविधि २०७८ स्वीकृत गरेको छ ।
जेठ ३१ गते बसेको मन्त्रिपरिषद बैठकले गरेका १९ निर्णय–
- सार्वजनिक खरिद पुनरवलोकन समितिका अध्यक्ष भीमकुमार ओझाले दिएको राजीनामा स्वीकृत गर्ने
- सार्वजनिक खरिद पुनरवलोकन समितिको अध्यक्ष पदमा नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणीबाट अवकाशप्राप्त हुनुभएका मोहनकृष्ण सापकोटालाई नियुक्त गर्ने
- एपीजी (एसिया प्यासिफिक ग्रुप अफ मनी लाउन्डरिङ) को मिति २०७९ साउन ८ देखि १२ गतेसम्म मलेसियामा आयोजना हुने वार्षिक साधारणसभामा सहभागिताको लागि सचिवद्वय धनराज ज्ञवाली र उदयराज सापकोटाको वैदेशिक भ्रमण स्वीकृत गर्ने
- मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाललाई रातमाटे सबस्टेसन निर्माणका लागि नुवाकोटको बेलकोटगढी नगरपालिकामा जग्गा उपलब्ध गराउने
- जापान सरकारबाट नेपालको मानव संसाधन विकासका लागि प्राप्त हुने जापानी येन ३७६ मिलियन (करिब ३६ करोड ६२ लाख) बराबरको अनुदान सहायता स्वीकार गर्ने
- मिति २०७९ असार ११ र १२ गते स्विट्जरल्यान्डमा आयोजना हुने ९० सेकेन्ड एनुअल जनरल मिटिङ अफ द बैंक फर इन्टरनेशनल सेटलमेन्ट विषयक कार्यक्रममा भाग लिन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई स्वीकृति दिने
- राष्ट्रिय बीमा कम्पनी लिमिटेडको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव रामेश्वर ज्ञवालीलाई मनोनयन गर्ने
- २०७९ असार ६ देखि १३ गतेसम्म थाइल्यान्ड र भियतनाममा हुने नलेज सेयरिङ वर्कशप अन इन्क्लुसिभ फाइनान्सिङ अप्सन्स फर एमएसएमबीएस क्रिएटिभ्स विषयक कार्यक्रममा सहभागी हुन सचिव अर्जुनप्रसाद पोखरेललाई स्वीकृति दिने।
- २०७९ असार ६ मा भर्चुअल माध्यमबाट हुने नेपाल–भुटान द्विपक्षीय व्यापार वार्तामा नेपालको तर्फबाट भाग लिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयतर्फबाट सहसचिव डा. नारायणप्रसाद रेग्मीको नेतृत्वमा वार्ता टोली गठन गर्ने
- नेपालका लागि अस्ट्रियाका अवैतनिक वाणिज्य दूत राजेशबाबु श्रेष्ठलाई अस्ट्रियाबाट प्रदान गरिने डेकोरेसन अफ अनर इन सिल्भर र द ब्रिगेड अफ गुर्खाजका भूपू सैनिकहरु धर्मराज तामाङ र वीरबहादुर थापालाई बेलायती महारानीबाट प्रदान गरिने ब्रिटिश इम्पाइर मेडल पदक ग्रहण गर्न स्वीकृति दिने
- नेपाल रेडक्रस सोसाइटीका साधारण सदस्यहरुमध्ये प्रा सुदर्शन नेपालको अध्यक्षतामा तीन महिनाको लागि एक तदर्थ समिति गठन गर्ने
- नेपाल सरकार र बेलायत सरकारबीचको द्विपक्षीय श्रमसम्झौता स्वीकृत गर्ने
- दक्षिण कोरियाको सोलमा २०७९ असार ९ देखि १२ गतेसम्म आयोजना हुने द वर्ल्ड टुरिज्म इन्डस्ट्री कन्फरेन्स २०२२ र द ३७औँ सोल टुरिज्म फेयरमा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई स्वीकृति दिने
- तारागाउँ विकास समितिको अध्यक्षमा सुरेशराज जोशी र सदस्यसचिवमा महेन्द्र कुमार थापालाई नियुक्त गर्ने
- २०७९ असार ८ देखि १० गतेसम्म मेक्सिकोमा सञ्चालन हुने सूचना आयुक्तहरुको अन्तर्राष्ट्रिय वार्षिक सम्मेलनमा सहभागी जनाउन राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ नेतृत्वको भ्रमण टोलीलाई स्वीकृति दिने
- निजी आवास पुनर्निर्माण तथा प्रबलीकरणको कार्यलाई २०७९ असार मसान्तसम्म निरन्तरता दिने
- सरकारी जग्गा दर्ता तथा लिज उपलब्ध गराउनेसम्बन्धी कार्यनीति २०७८ लाई स्वीकृत गर्ने
- सरकारी सम्पत्ति तथा निजी जिन्सी, मालसामान लिलाम बिक्री तथा मिनाहासम्बन्धी कार्यविधि २०७८ स्वीकृत गर्ने
- उपचार खर्च, राहत तथा आर्थिक सहायतासम्बन्धी मापदण्ड २०७८ स्वीकृत गर्ने
























