काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले सरकार निजगढ अन्तराष्ट्रिय विमानस्थल बनाउन प्रतिबद्ध रहेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा विनियोजन बजेटमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यात्रुको चापलाई ध्यानमा राखेर सो विमानस्थल बनाउनैपर्ने अवस्था रहेको धारणा राखेका हुन् ।
मन्त्री आलेले सो विमानस्थल निर्माणका लागि २६ करोड बजेट न्यून भएको उल्लेख गर्दै थप बजेट अर्थ मन्त्रालयले निकासा गर्ने विश्वाससमेत व्यक्त गरे ।
मन्त्री आलेले सो विमानस्थलको विस्तृत डिजाईनको काम नेपाल नागरिक उडड्यन प्राधिकरणमार्फत भईरहेको उल्लेख गर्दै त्यसको मोडोलिटी तय गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको नेतृत्वमा सिफारिस समिति पनि बनाइएको जानकारी दिए । ८ हजार ५० हेक्टर जग्गा सो विमानस्थलको निर्माणका लागि अधिग्रहण भइसकेको पनि उनले बताए ।
सर्वोच्च अदालतले सो विमानस्थलको निर्माणको सबै काम रोक्न आदेश दिएका बेला मन्त्री आलेले विमानस्थलको काम अगाडि बढाउने अभिव्यक्ति सार्वजनिक समारोहहरुमा दिँदै आएका छन् ।
























