काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले कृषि मन्त्रालयका गैरजिम्मेवार व्यक्तिले गर्दा समयमा मल आउन नसकेको बताएका छन् । उनले मन्त्रालयको जिम्मेवारी प्राप्त व्यक्तिले जिम्मेवारी पूरा नगर्दा समयमा रासायनिक मल आउन नसकेको बताए ।
आजको प्रतिनिधिसभाको विनियोजन विधेयकको छलफलका क्रममा बोल्ने क्रममा सांसद थापाले भने, ‘जिम्मेवार मन्त्रालय र जिम्मेवारी लिएका मानिसहरुले सही काम नगरिदिँदा समस्या आयो । अब के हुन्छ ? वक्तव्य आउँछ । मल आउदैन । अब रोएका किसानको फोटो आउँछ ।’
सांसद थापाले प्रधानमन्त्री तथा पार्टी सभापतिलाई भेटेर किसानलाई मलका कारण पर्ने समस्याबारे समयमै जानकारी गराएको बताए । उनले भने ‘जेठ असारमा मल यही तरिकाले आउन नसक्ने पार्टीको बैठकका साथै बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर पनि भनेको हो । प्रधानमन्त्रीले त्यहीँबाट मन्त्रीलाई फोन गरेर भन्नुभएको पनि हो ।’
उनले अनुकूल मनसुन हुँदा समेत सामूहिक असफलता भएको उल्लेख गरे । स्वदेशमा मल नपाएर सीमाना पारी गएर ल्याउनेलाई लाठीले ठोकेर र खोसेर सरकारले बहादुरी देखाउने गरेको भन्दै त्यसको उनले घोर विरोध गरे ।
२ देखि ३ लाख रासायनिक मल जेठ र असार महिनामा मात्रै आवश्यक पर्ने तथ्यांक सुनाउँदै थापाले कृषि मन्त्रालयले असारको अन्त्यसम्म ल्याउने प्रतिबद्धता जनाएको भए पनि मल नआउने दाबी गरे ।
‘१ लाख ९२ हजार मेट्रिक टन मल असारको मसान्तसम्म आउने कृषि मन्त्रालयको जानकारी गराएको छ । मन्त्रालयले ल्याउने भनिएको मल आउनै सक्दैन ।’ थापाले भने,‘ दिनको २ हजार मेट्रिक टन भन्दा बढी अहिले आउन सक्दैन । सरकार र मन्त्री फेरिए पनि मलको कथा यस्तै रहिरह्यो ।’