काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । शनिबार दिउँसो पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक सम्पन्न भएलगत्तै अध्यक्ष ठाकुर प्रधानमन्त्री देउवालाई भेटन् प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।
दुई नेताबीच संघ र प्रदेशको आगामी निर्वाचनबारे छलफल भएको लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले बताए । उनले प्रधानमन्त्री देउवाले पार्टी अध्यक्ष ठाकुरलाई मिटिङका लागि बोलाएको र त्यसमा आगामी संघ र प्रदेशको निर्वाचनमा हुने गठबन्धनबारे छलफल हुने भएको बताए । ‘अर्को निर्वाचनमा पनि आउँदैछ, प्रतिनिधिसभा र प्रदेशसभाको । त्यस विषयमा पनि पार्टीको कार्यकारिणी समिति बैठकमा छलफल भयो । तर, प्रधानमन्त्रीजीले पार्टी अध्यक्षलाई मिटिङमा बोलाउनुभएकाले आज बैठक स्थगित गरिएको छ । प्रधानमन्त्री देउवा र पार्टी अध्यक्षबीच आगामी चुनावमा गठबन्धन गर्ने विषयमा छलफल हुन्छ नै’ झाले भने ।
यता, लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक आइतबार बिहान ११ बजे बस्ने भएको छ । विजुलीबजारस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकमा स्थानीय तहको निर्वाचनको समिक्षा गरी आगामी संघ र प्रदेशको निर्वाचनको आन्तरिक तयारीबारे विस्तृत छलफल हुने बताइएको छ ।

























