काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिले जनजीवन प्रभावित बनेको भन्दै दर्ता गरिएको संकल्प प्रस्ताव आजको प्रतिनिधिसभा बैठकमा पेस हुँदैछ ।
प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पेस गर्ने सो संकल्प प्रस्तावललाई एमाले सांसद यज्ञराज सुनवार, गणेशकुमार पहाडीसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्रप्रसाद लिङदेनले समर्थन गरेका छन् ।
आजको सम्भावित कार्यसूचीमा उल्लेख भएको संकल्प प्रस्तावमा प्रतिपक्षी दलले विरोध गर्दा पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि नियन्यत्रण गर्न सरकारले ध्यान नदिएको आरोप लगाइएको छ ।
संकल्प प्रस्तावमा भनिएको छ, ‘पेट्रोलियम पदार्थको मूल्य समायोजन कसरी गर्न सकिन्छ ? भनेर प्रतिपक्ष दल एवं सबन्धित क्षेत्रका विज्ञसँग छलफल नगरी निजीकरणको कुरा उठाउनु असान्दर्भिक, गैरजिम्मेवार र बेमौसमी छ ।’
सो प्रस्तावमा अगाडि भनिएको छ, ‘जनताको आधारभूत आवश्यकता परिपूर्ति गर्ने कल्याणकारी राज्यको प्राथमिकता र सर्वाधिक महत्वपूर्ण दायित्वको सुनिश्चित गर्न तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाउन स्पस्ट खाका पेस गर्न सरकारलाई झकझकाउन संसदले पहल गर्न आवाश्यक भएकाे छ ।’

























