सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनको भर पर्दा धेरै सिट गुमाउनु परेको गुनासो गरेका छन् ।
पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन गर्न सुर्खेत आएका नेता नेपालले पत्रकार सम्मलेनमा बोल्दै गठबन्धनको सहारामा जित्न सकिएला भनेर पार्टीले धेरै कसरत नगरेको र गठवन्धनबाट पर्याप्त सहयोग नहुँदा पार्टी खुम्चिनु परेको बताएका छन् । उनले बरु पार्टी एक्लै चुनावमा होमिएको भए धेरै सिट जित्ने सक्ने रहेछ भनेका छन् ।
मतदातामा चुनाव चिन्हको अस्पष्टताले पनि सिट गुमाउनु परेको बताएका छन् ।
प्रहरी, प्रशासन र निर्वाचन आयोगको भूमिकाप्रति गम्भीर आरोप लागेको बताउँदै उनले पैसाको चरम दुरुपयोग गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन् ।
सत्तागठबन्धन दलहरूबीच चुनावी समीक्षाबाट आत्मालोचना भएकोले प्रदेश र संघको निर्वाचनमा पनि तालमेल हुने नेता नेपालले बताएका छन् ।