काठमाडौं । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले बजेटमार्फत् घोषणा गरिएको किसान पेन्सन कार्यक्रम हावादारी भएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथि धारणा राख्ने क्रममा उनले किसानलाई के आधारमा पेन्सन दिने हाे त्यसको निर्क्योल नै नभएको भन्दै त्यसलाई हावादारी कार्यक्रम भनेका छन् ।
‘योगदानका आधारमा किसानलाई पेन्सन भनेको के हावादारी कुरा हो ?’ उनले प्रश्न गरे, ‘यदि कृषि उपजको बीमाको कुरा भएको भए कुरा बुझिन्थ्यो, पेन्सन प्राप्त गर्ने के मोडालिटी हुन्छ ?’
नेपाली किसानलाई खेतमा पानी, समयमा मल र उम्रिने बिउ भए पुग्ने भन्दै उनले यसै वर्ष धानखेतीमा राख्ने मल अभाव हुनेतर्फ भने सरकार सचेत नरहेको आरोप लगाए । सुन्निनु र मोटाउनु फरक कुरा हो भन्दै नेता त्रिपाठीले अहिलेको बजेट सुन्निएको बताए ।

























