काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता अनिलकुमार झाले सरकारमा रहेका गठबन्धन दलले आगामी निर्वाचनमा कार्यकर्ता पोस्ने गरी बजेटरुपी दस्तावेज ल्याएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै झाले बजेट वितरणमुखी र चुनाव लक्षित रहेको आरोप लगाए । नेता झाले भने- ‘यो बजेट समग्रमा वितरणमुखी हो । यो बजेट ६ महिना पछाडि हुने निर्वाचनमा कार्यकर्ताहरुलाई पैसा बाँड्न बनाइएको बजेट हो ।’
झाले बजेटमा कुनै नयाँ कार्यक्रम नभएको भन्दै बजेट ल्याउने परम्पराले निरन्तरता पाएको बताए । ‘देश भएपछि एउटा संसद हुनुपर्ने, सरकार हुनुपर्ने र प्रत्येक वर्ष एउटा बजेट ल्याउनुपर्ने विश्वव्यापी परम्परा र मान्यतालाई अनुसरण गर्दै यसपटकको बजेट पनि ल्याइएको हो ।’

























