काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तारा एयरको जहाज दुर्घटनाको खबरले आफूलाई मर्माहत एवं दुखी बनाएको बताएका छन् ।

अध्यक्ष ओलील सामाजिक सञ्जालमार्फत् दुःख व्यक्त गर्दै भनेका छन्- ‘पोखराबाट जोमसोमका लागि १९ जना यात्रु लिएर उडेको तारा एयरको एनईटी विमान मुस्ताङको थसाङमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको खबरले अत्यन्त दुखी एव‌ं मर्माहत बनाएको छ ।’

तारा एयरको जहाज आइतबार विहान पोखराबाट जोमसोम जाने क्रममा सम्पर्कविहीन बनेको थियो । जहाज आज विहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । दुर्घटनामा चालक दलका तीन सदस्यसहित सबै २२ जना यात्रुको मृत्यु भएको छ ।

ओलीले अगाडि भनेका छन्- ‘दुर्घटनामा ज्यान गुमाउनुभएका सबैमा भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै विपत्तिमा परेका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’