काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले महिला सशक्तीकरण सबैको साझा विषय भएकाले महिला उत्थानका लागि समन्वयात्मक ढङ्गले काम गर्नुपर्ने बताउनुभएको छ । चौथो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले सरकार लैङ्गिक विभेद र हिंसाका घटनालाई जरैदेखि निर्मूल गर्न शून्य सहनशीलताको नीति लिई काम गर्दै आइरहेको उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्री देउवाले विभिन्न कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयन गरी महिलाको लैङ्गिक, सामाजिक, आर्थिक तथा राजनीतिक अधिकार सुनिश्चित गर्न र विकासका समग्र पक्षमा महिलालाई मूलप्रवाहीकरण गर्न आवश्यक रहेको बताउनुभएको छ ।
उहाँको सन्देशमा महिलाविरुद्ध हुने सबै खालका भेदभावपूर्ण व्यवहारलाई नियन्त्रण गर्दै महिलाको उत्थान र विकासका लागि सरकार प्रतिबद्ध भएको उल्लेख गरिएको छ । प्रधानमन्त्री देउवाले दिगो विकासका लागि पुरुष र महिलाहरूको सक्रिय र अर्थपूर्ण सहभागिता अपरिहार्य भएको बताउनुभएको छ ।
























