काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदको अवरोधका कारण स्थगित भएको प्रतिनिधिसभाको आजको बैठक २ बजे बस्ने भनिए पनि हालसम्म पुनः सुरु हुन सकेको छैन ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले दिएको अभिव्यक्तिमाथि प्रश्न उठाउँदै नेकपा एमालेका सांसदले आपत्ति जनाएका थिए । बिहीबार एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले कमिसनका लागि नेपाल आयल निगम वर्तमान सरकारले निजीकरण गर्न लागेको आरोप लगाएका थिए । सो आरोपको प्रतिवाद गर्दै मन्त्री बडूले आधारहीन टिप्पणी नगर्न तथा भ्रमपूर्ण अभिव्यक्ति दिएर प्रमुख प्रतिपक्षी दलको नेताको गरिमा कायम नहुने बताएका थिए ।
मन्त्री बडूले पूर्व प्रधानमन्त्री ओलीलाई आफूले बोलेको कुरा प्रमाणित गर्न चुनौती दिएपछि एमाले सांसदले आपत्ति जनाएका थिए । आरोप प्रत्यारोप चल्न थालेपछि सभामुख सापकोटाले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । सो समयभित्र बैठक पुनः सञ्चालन हुन नसकेपछि सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले सूचना प्रकाशित गरी बैठक २ बजेसम्मका लागि स्थगित भएको जानकारी दिएका थिए । तर, हालसम्म पनि बैठक भने सुरु हुन सकेको छैन ।

























