काठमाडौं । सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको विरोधमा नेपाल राष्ट्र बैंकका देशभरका कार्यालयहरुमा कर्मचारीहरुले विरोध जनाएका छन् ।
राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिले सरकारी निर्णयको विरोधमा केन्द्रीय कार्यालयमा कालो ब्यानर झुण्ड्याउनुका साथै कोणसभा आयोजना गरेको छ । राष्ट्र बैंकका केन्द्रीय कार्यालयलगायत उपत्यकाबाहिरका सबै कार्यालयमा एकैसाथ कालो ब्यानर टाँगिएको संघले जनाएको छ ।
कर्मचारीले टाँगेको कालो ब्यानरमा ‘केन्द्रीय बैंकको स्वायत्ततामाथिको नांगो हस्तक्षेप बन्द गर’, निराधार तथा कपोलकल्पित आरोपमा गभर्नर महाप्रसाद अधिकारीमाथि सुरु गरिउको कारबाही प्रक्रिया अविलम्ब फिर्ता गर’ र संकटोन्मुख राष्ट्रिय अर्थतन्त्रको उद्धारका लागि तत्काल विशेष नीति तर्जुमा गरी कार्यान्वयन गर’जस्ता नारा उल्लेख गरिएका छन्।
राष्ट्र बैंकमा भएको कोणसभालाई सम्बोधन गर्दै संघका अध्यक्ष रुद्रप्रसाद तिम्सिनाले राज्य सञ्चालकहरु वित्तीय माफियाहरुको चंगुलमा फसेको आरोप लगाएका छन् । उनले भने “राज्य संचालकहरु वित्तीय प्रणालीको दुरुपयोग गरी गलत क्रियाकलापमा लिप्त वित्तीय माफियाहरुको चंगुलमा फसेकाले राष्ट्र बैंकका नेतृत्वमाथि आक्रमण गरेका हुन ।”
यसअघि पनि यस्ता हस्तक्षेप र आक्रमण भएको स्मरण गर्दै उनले यसअघि पनि केन्द्रीय बैंकका गभर्नरहरु कल्याणविक्रम अधिकारी, तिलक बहादुर रावल र विजयनाथ भट्टराईलाई तत्कालीन सरकारले बर्खास्तगी र निलम्बन गर्दा संघले विरोध गरेको बताए । उनले गभर्नरमाथि कारबाही फिर्ता लिन सरकारसँग माग पनि गरेका छन् ।
कार्यक्रममा संघका अध्यक्ष तिम्सिना, वरिष्ठ उपाध्यक्ष पदमराज जोशी, उपाध्यक्ष उमाकान्त थपलिया, महासचिव शंकर प्रसाद भट्टराईलगायत संघका केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य, बालुवाटार र थापाथली समितिका पदाधिकारी, सदस्य र साधारणसदस्यलगायत समर्थक, सभेच्छुक तथा कर्मचारीहरुको उपस्थिति थियो ।