काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले सोमबार विहान काठमाडौंमा रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोध गर्दै प्रदर्शन गरेको छ ।
रुसलाई तत्काल युद्ध रोक्न आग्रह एवं युक्रेनी जनता तथा युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षाको आह्वानसहित समाजले प्रदर्शन गरेको हो ।
काठमाण्डौको बौद्धनाथ अगाडि सम्पन्न प्रदर्शनमा शान्तिवादीहरुले रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा हातमा कालोपट्टी बाँधेका थिए । शान्तिवादीहरुले हातमा मैनवत्ती बोकेर युक्रेनी जनता तथा युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षाका लागि आह्वान गरेका थिए ।
आधा घण्टासम्म भएको प्रदर्शनमा युक्रेनमाथि रुसको आक्रमण मानवताविरुद्धको अपराध हो, रुस: तत्काल युद्ध रोक, रुस: मानवता विरुद्धको अपराध बन्द गर, युक्रेनी जनताको जीवन रक्षा गर, युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षा गर, रुस: तत्काल सैनिक फिर्ता गरी युद्ध रोक लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।
प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सल्लाहकारद्वय होमकान्त चौलागाई र उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रामकृष्ण बराल, सचिव नम्रता खरेल, कोषाध्यक्ष जगन्नाथ पुडासैनीलगायतका व्यक्तिहरुको उपस्थिति थियो ।