काठमाडौं । कोरोना महामारीबीच काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) बाट गत जनवरी महिनामा २ लाख १३ हजार ४५५ जनाले आवतजावत गरेका छन् ।
अध्यागमन विभागका अनुसार टीआइएबाट आवतजावत गर्नेमध्ये ८९ हजार ४९९ जना नेपाल आउने र १ लाख २३ हजार ९५६ जना नेपालबाट बाहिरिने रहेका छन् ।
विभिन्न देशबाट नेपाल आउनेमा ७० हजार ३२६ जना पुरुष, १९ हजार १६२ जना महिला र पहिचान नखुलेका ११ जना रहेका छन् ।
सन् २०२२ जनवरीमा नेपाल छाड्नेमध्ये एक लाख ३५१ जना पुरुष, २३ हजार ५९४ जना महिला र पहिचान नखुलेका ११ जना रहेको विभागको तथ्याङ्कले देखाउँछ ।
विभागका अनुसार गत जनवरीमा टिआइएबाट आवतजावत गर्नेमा विदेशीको संख्या ३४ हजार ९५९ रहेको छ भने नेपालीको संख्या १ लाख ७८ हजार ४९६ रहेको छ ।
जनवरीमा बिभिन्न देशबाट ७२ हजार ५२४ जना नेपाली स्वदेश फर्केका थिए । सोही अवधिमा १ लाख ५ हजार ९७२ जना नेपाली देश छोडी विदेश गएको विभागले जनाएको छ ।
गत वर्ष सन् २०२१ मा कूल १५ लाख २१ हजार ४३४ जनाले टिआइएबाट आवतजावत गरेका थिए । यसरी आवतजावत गर्नेमा नेपाल आउनेको संख्या ७ लाख ३८ हजार ५४ रहेको थियो भने नेपालबाट बाहिरिनेको संख्या ७ लाख ८३ हजार ३८० रहेको थियो ।