काठमाडैं । नेपाल–भारत जोड्ने गरी महाकाली नदी माथि निर्माण गर्ने पुलको लागि दुई देशबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
भारत सरकारको अनुदानमा नेपालको दार्चुला र भारतको धार्चुलालाई जोड्ने गरी महाकाली नदीमा निर्माण गर्ने पुल निर्माणका लागि दुई देशबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतापत्रमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भारतीय राजदूत विनयमोहन क्वात्रा र नेपाल सरकारका तर्फबाट मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले हस्ताक्षर गरेका हुन । दार्चुला र धार्चुलालाई जोड्ने पुल निर्माणसँगै नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबिचको सीमापार सम्पर्कलाई सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले नेपालको बिकास आयोजनामा भारत सरकारले गरेको सहयोगको प्रसंसा गरिन् । उनले निर्धारित समयमा नै पुल निर्माण हुने विश्वास व्यक्त गरेकी छिन् ।
त्यस्तै भारतीय राजदूत विनयमोहन क्वात्राले दुई देशका जनताबिच वाणिज्य, सांस्कृतिक तथा जनता–जनताबिचको सम्बन्धलाई सुव्यवस्थित बनाउन दुई देशका सरकारले प्राथमिकताका साथ अघि सारेको सीमापार कनेक्टिभिटि अनुरुप रहेको बताए ।
मन्त्रालयका अनुसार अहिले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माणको चरणमा छ । डीपीआर तयार पारेको करिब ३ वर्षमा पुल निर्माण सक्ने योजना छ । पुल बनाउन ४० देखि ४२ करोड रुपैयाँ लाग्ने अनुमान छ ।
https://youtu.be/n7k993vuzQI