जनकपुरधाम । प्रदेश नं २ को नाम ‘मधेश प्रदेश’ भएको छ । सोमबार बसेको प्रदेशसभा बैठकले २ नं प्रदेशको नाम मधेश प्रदेश राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेको हो ।
सोमबार बसेको दोस्रो बैठकमा भएको मतदानमा ९९ सांसद सहभागी भएका थिए, जसमध्ये ८० जनाले पक्षमा मत दिए ।
सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा)सँगै सत्तारुढ माओवादी केन्द्र र विपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले संयुक्त रुपमा प्रदेशको नाम मधेश प्रस्ताव गरेका थिए । जसपाको ३९, माओवादीका ८ र लोसपाको १६ गरी ६३ जना सांसद थिए । १ सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीले पनि यसमा समर्थन जनाएको थियो ।
तर अरु दलका १६ सांसदले पनि प्रदेशको नाम मधेश राख्ने प्रस्तावको पक्षमा मतदान गरेका छन् ।